काठमाडौं, ९ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला अन्ततः पार्टी सभापति शेरबहादुर देउवाको क्याम्पमा विशेष महत्वकांक्षासहित भित्रिएका छन् । हालै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले लज्जास्पद पराजय व्यहोरेपछि पार्टीभित्र उनी निकट युवा नेता गगन थापाको नेतृत्वमा सभापति देउवाको विकल्प खोज्ने आन्तरिक तयारी गरिरहेको बेला सिटौलाले सबैलार्ई चकित तुल्याउनेगरि गगनलाई थाहै नदिई देउवासँग नजिकिएको स्रोतको दाबी छ । देउवा क्याम्पका प्रभावशाली नेताहरु गोपालमान श्रेष्ठ र विमलेन्द्र निधिले पनि चुनाव हारेपछि सिटौला देउवासँग नजिएका हुन् । पछिल्लो समय देउवा र निधिवीच सौहार्दपूर्ण वातावरणमा कुराकानी समेत भएको छैन । खासगरी आईजीपी प्रकरणमा देउवाले आफूलाई हस्तक्षेप गरेको भन्दै उनले गृहमन्त्रीबाट समेत राजिनामा दिएर देउवासँगको विवादलाई सतहमा ल्याएका थिए । पछि, देउवा र निधिवीच वान टु वान भेटवार्ता भएपछि उक्त विवाद साम्य भएको थियो । तर चिसिएको सम्बन्ध कसरी क्षणभरमै न्यानो हुन्थ्यो र ? अहिले निधि र श्रेष्ठ दुवै नेता देउवाबाट टाढा रहेको मौका छोपेर सिटौला देउवासँग नजिएका हुन् । स्रोतका अनुसार सिटौलाले देउवालाई अहिले खुलेरै सहयोग गर्ने र देउवापछि पार्टीको नेतृत्वमा आफू पुग्ने रणनीति लिएका छन् । त्यसैले उनले आफूसँगै रहेका नेताद्धय गगन थापा र भिमसेनदास प्रधानलाई पनि सुईंको नै नदिईकन देउवा क्याम्पमा प्रवेश गरेका छन् । यस विषयमा देउवा र सिटौलावीच हिजो आज निरन्तर सम्वाद समेत भैरहेको छ । पार्टीलाई कसरी लैजाने र संगठनलाई कसरी चुस्त, दुरुस्त र प्रभावकारी बनाउनेबारे दुई नेताहरुवीच लगातार बहस तथा छलफल भैरहेको देउवा निकट उच्च स्रोतले जनाएको हो ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment